कोरियन भाषा परीक्षा सुरु
काठमाडौं– ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ। जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्।
‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ। अन्य सिफ्ट त्यसपछि तय गरिनेछ’, उनले भनिन्।
परीक्षार्थी परीक्षाको एक दिनअघि सिफ्टअनुसार पीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेसन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षा सुरु हुनुअघि एक घन्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन सुरु हुनेछ। निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले जानकारी दिइन्। परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ।
परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिए परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ।
सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए।







