नारायणी नदीमा नयाँ पुल बन्दै
काठमाडौं–नारायणी नदीमा नयाँ पुल निर्माणको काम सुरु भएको छ। पुलको नक्सांकनको काम भइरहेको छ भने निर्माण स्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।
पूर्व–पश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्नेछ। पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ। उक्त कम्पनीलाई १ अर्ब ६८ करोड ७६ लाखमा नक्सांकन सहितको निर्माणको ठेक्का दिईएको हो ।
गत जुन २ तारिखमा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो। निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्म शिलान्यास गरेर काम अघि बढाउने तयारी छ।
उनले भने, ‘बर्खामा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्म नक्सांकनको काम सकेर निर्माणको काम थाल्ने तयारीमा छौं।’
पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो। महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्न आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताइन्।
बर्खाको समय भुइँको काम गर्न कठिन हुने भएकाले हिउँददेखि काम थाल्न सकिए वर्षायाममा सहज हुने उनको भनाइ छ।–रासस







