श्रीलंकालाई हराउँदै भारत फाइनलमा
काठमाडौं– एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। जितका लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई ४०.१ ओभरमा २१३ रनमा अलआउट गर्दै श्रीलंकाले एक खेलअघि नै फाइनलको ढोका खोल्ने सम्भावना देखाएको थियो।तर, २१४ रनको मध्यम लक्ष्य पूरा गर्न श्रीलंका असफल रह्यो। अलराउन्डर दुनिथ वेल्लालागे र धनञ्जय डिसिल्वाका अलावा कुनै पनि श्रीलंकन ब्याटर भारतीय बलिङका सामु टिक्न सकेनन्।
श्रीलंकालाई ध्वस्त बनाउन भारतका कुलदीप यादवले चार विकेट लिए। उनले अन्तिम दुई विकेट लगातार दुई बलमा लिएका थिए। श्रीलंकाले भने लगातार तीन बलमा तीन विकेट गुमाउन पुग्यो।
त्यसअघि भारतले कप्तान रोहित शर्माको ५३ रनको मद्दतमा अलआउट हुनुपूर्व २१३ रन बनाएको थियो। एक दिनअघि पाकिस्तानसँग विशाल रन अन्तरले विजयी भएको भारतलाई सामान्य लक्ष्यमै रोक्ने क्रममा अलराउन्डर दुनिथले पाँच विकेट लिएका थिए।







