कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता
काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए ।
बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे।
यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो।







