विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौं । युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।
शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।
सम्मान गर्ने क्रममा प्रधानमन्त्रीले खुसी व्यक्त गर्दैभने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन्।
नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो ।नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।







