सरकारले भन्यो– पुनः लकडाउन हुन सक्छ
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने चेतावनी दिएको छ ।
सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडवाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ । लकडाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन् भन्नेमा भर पर्ने उनले बताए ।
मन्त्री ज्ञवालीले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकलाई सचेतना अपनाउन पनि आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकलाई सचेतना अपनाउन अपिल गरेका हुन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे । दसैं, तिहार र छठजस्ता चाडपर्वमा भीडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।
ज्येष्ठ नागरिकको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरबाहीले जीवनमै जोखिमको अवस्था आउन नदिन आग्रह गरे । काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगन्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भूमिकालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए ।
राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाइँमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यास काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए ।







