‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए
कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछका लागि उनलाई जिल्ला बोलाइएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरे । ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’
चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लगाउन नपाउने बताएका उनले २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको उल्लेख गरेका छन् ।
‘हामी भोट हालेर टीका लगाएर आएका होइनौँ । दारु भात खाएर आएकै होइन,’ चौधरीले थप भनेका थिए ।
उनले उक्त कार्यक्रममा बोलेको भिडियोमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको सुनिन्छ । तर, डीएसपीको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा परेका हुन् ।
यद्यपि, कैलाली प्रहरीले छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा कसरी दिइएको हो ? भन्ने विषयमा समान्य सोधपुछका लागि डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।







