नेप्से परिसूचक २२.०४ अंकले बढ्यो
बुधबार नेप्से सूचक २२.०४ विन्दुले बढेर २७०५.९० विन्दुमा पुगेको छ । आजको दिन ७ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेप्सेसँगै यस दिन करोबार रकम पनि बढेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
आजको दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड ७१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३५ करोड नाघेको छ।







