प्रमुख समाचार
Tuesday, 9 Jul, 2024
बाढीपहिरोमा परेर ७० जनाले ज्यान गुमाए
काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत प्राकृतिक विपद्मा परेर हालसम्म ७० जनाले ज्यान गुमाएका छन्। मनसुन सुरु भएको समय जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उक्त अवधिमा बाढीपहिराका ९६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र ३३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ। उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र ९ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।







