रामायण तथा बुद्ध ‘सर्किट’ निर्माण गर्ने सहमति कार्यान्वयनमा
प्रधानमन्त्री दाहालले नेपाल र भारतका धार्मिक स्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने विषयमा भएको सहमति गम्भीरताका साथ कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताए। उनले शिव, बुद्ध र किरात परिपथको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए।
‘नेपाल र भारतबीच १५ वटा धार्मिक स्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ’, प्रधानमन्त्री दाहालले भने, ‘रामायण सर्किटलगायत शिव, बुद्ध र किरात परिपथको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ।’
उनले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। प्रधानमन्त्री दाहालले देशका विभिन्न भागमा रहेका गुठी, सार्वजनिक जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पारे।







