प्रोत्साहन भत्ता माग्दै संसद् परिसरमै कर्मचारीको धर्ना
काठमाडौं– प्रोत्साहन भत्ता माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद् परिसरमै धर्नामा बसेका छन्। अतिरिक्त समय काम गरेको रकमस्वरुप प्रोत्साहन भत्ता पाउनुपर्ने मागसहित केही दिनदेखि संस्द सचिवालयका कर्मचारी आन्दोलन गर्दै आएका हुन्। संसद् सचिवालयका कर्मचारीले कोरोनाअघि प्रोत्साहन भत्ता पाउँदै आए पनि त्यसपछि कटौती गरिएको थियो।
११ बुँदे मागसहित आन्दोलन उत्रिएका संसद् सचिवालयका कर्मचारीको विषयमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारीसहित दलका सचेतकसँग छलफल गरेका थिए। तर, सोमबारको वार्ता भए निष्कर्षविहीन भएपछि कर्मचारीले आज पनि धर्नालाई निरन्तरता दिएका हुन्।
कर्मचारी धर्नामा रहेको विषय आजको संसद् बैठकमा विभिन्न राजनीतिक दलका सांसदले उठाएका छन्। एमाले सांसद रघुजी पन्तले संसद्मा पत्रिका आउन छाडेको र अतिरिक्त काम गर्ने कर्मचारीलाई माग गरेको भत्ताका विषयमा सहमतिमा पुग्नुपर्ने धारणा व्यक्त गरे।
‘संसद्मा प्रवेश गर्ने ठाउँमा कर्मचारीले बाटो छेकेर धर्ना गरिरहेको देखियो। पूरा गर्नुपर्ने माग भए पूरा गर्नुपर्छ। नभए निकास निकाल्ने गरी वार्ता हुनुपर्छ’, सांसद पन्तले भने।
उनले कानुन न्याय तथा संघीय मामिला मन्त्रालयका कर्मचारीले अतिरिक्त भत्ता पाइरहेका बेला संसद् सचिवालयका कर्मचारीलाई नदिइनु उपयुक्त नभएको उनले बताए।







