पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुले
काठमाडौं–पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा अबदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो।’
चारवटै ढोका खोलिएपछि अहिले भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ। अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।







