काठमाडौं महानगरले सामुदायिक विद्यालयका ६१ सटरमा लगायो ताला
काठमाडौं। काठमाडौं महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाइदिएको छ। महानगरको शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो।
यसरी ताला लगाइएका सटरमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका ८ र पद्मकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताए। यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ। ‘कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ।
यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्’, दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरले दिँदै आएको छ। विद्यालयले माग गरेको भन्दा धेरै कार्यक्रम पठाएको छ।’ महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताए।
पोखरेल भन्छन्, ‘विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ। पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउन आवश्यक छ। त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौं।’







