मधेस प्रदेशको मुख्यमन्त्री बने जनमतका सतिश सिंह
काठमाडौं–मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा बहुमत जुटाउन नसक्दा पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका नेता सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले बताएको हो।
मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। सिंहले शुक्रबार बिहान ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई जनमतसँगै एमाले, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश मन्त्रालय भागबन्डा पनि टुंगिएको छ। ६ दलीय सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ। जनमतलाई एक मन्त्रालय पछि दिने गरी मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय, नेकपा माओवादी केन्द्रलाई अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, नेकपा ९एकीकृत समाजवादी०लाई भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय दिइने समझदारी बनेको छ।
एक–एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र जसपाले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको छ।







