अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाक
काठमाडौं– अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाक व्यवस्था गरिएको छ। जेठ १६ को मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएसँगै विभागले छुट्टै पोसाक व्यवस्था गरेको हो। अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ।
अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाइ भएकाले सरोकारवालासँग समन्वय गरी पोसाकको व्यवस्था गरिएको विभागले बताएको छ। विमानस्थलमा हुने कमी–कमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्न पोसाक व्यवस्था गरिएको विभागको भनाइ छ।
अध्यागमन विभागले सिफारिस गरेको कर्मचारी पोसाकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो। गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए। ‘पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ। सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान र गरिमा राख्छ’, अर्यालले भने, ‘सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरुपता आउनुका साथै अनुशासित पनि बनाउँछ। यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ।’
निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको जानकारी दिए।







