गण्डकीमा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै सुरेन्द्र पाण्डे
काठमाडौं– सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ। निवर्तमान मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेकाले पदमुक्त गरेर पाण्डेलाई नियुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। सर्वोच्चको सोमबारको फैसलापछि गण्डकीमा दोस्रोपल्ट मुख्यमन्त्रीका रुपमा पाण्डेले कार्यभार सम्हाल्नेछन्।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्नेमा अधिकारीले पाएको ३० मतले विश्वासको मत नपुग्ने ठहर सर्वोच्चले गरेको हो।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। संविधानअनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था भए पनि उनले ५९ जनालाई कुल संख्या मानेर बहुमतको दाबी गरेका थिए।
सर्वोच्चले पाण्डेको रिट जारी हुने ठहर गर्दै अधिकारीलाई पदमुक्त गरेको छ। सर्वोच्चले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसहितको नाममा परमादेश जारी गरेको छ। पाण्डेले पनि मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिन नसके पदमुक्त हुनेछन्।







