बुद्धजयन्तीमा शृंगारियो लुम्बिनी, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना
काठमाडौं। आज २५६८औं बुुद्ध जयन्ती। बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह भइरहेको छ।
शान्तिका अग्रदूत मानिने गौतमबुद्धको जन्मदिन अवसर पारेर आज नेपालभर विभिन्न कार्यक्रम गरी शान्ति र अहिंसाको कामना भइरहेको छ।
बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो संकल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए।
विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी पुगेका छन्।
कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए। बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। हिजोदेखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ।
आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ। लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलंका त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम छ।







