कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्न रहेको बताएर संसदीय छानबिन समिति माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल समिति गठन गर्न सकारात्मक रहेको दाबी गरेको छ।
सहकारी प्रकरणलाई लिएर कांग्रेसले शुक्रबारदेखि सुरु भएको बर्खे एवं बजेट अधिवेशन अवरुद्ध गरेपछि प्रधानमन्त्री दाहालले सहमति खोज्न शनिबार एमाले नेताहरुसँग वार्ता गरेका थिए। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका नेताहरुसँगको छलफलमा संसद् अवरोध खुलाउन संसदीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहाल सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका हुन्।
प्रधानमन्त्रीलाई पार्टीले राखेका माग र अडानबारे जानकारी गराइएको र संसदीय छानबिन समिति गठनमा सकारात्मक रहेको बताएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने अडान राख्यौं। यसमा उहाँ सकारात्मक रहेको पायौं।’सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसद् अवरोध जारी राख्ने उनले बताए।
छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए।







