उद्योगमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग गरे लगानी सम्मेलन केन्द्रित छलफल
काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ मा सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गरेका हुन्।
विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ। निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको तस्तै संसद्मा पेस गर्न सुझाव दिएको महासंघा महानिर्देशक गोकर्ण अवस्थीले बताए।
लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए।
छलफलमा महासंघा पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, जोत्सना श्रेष्ठ तथा परिसंघ अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायत सहभागी थिए।







