सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
काठमाडौं– सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। ‘दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ’, उनले भने।
जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याइने बताए। सरकारले गत असोज १५ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो। पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सह न्यायाधिवक्ता कुलबहादुर थापा, किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए।







