सुन मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २३ हजार ५०० पुग्यो
काठमाडौं– सुनचाँदी बजारमा सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुन मूल्य प्रतितोला १ लाख २३ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५०० ले बढेर नयाँ उचाइमा पुगेको हो।
महासंघबाट सार्वजनिक विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९०० कायम भएको छ। अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार ४०० मा कारोबार थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका तुलनामा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १२६ डलरमा कारोबार भइरहेको छ।







