डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग
काठमाडौं– नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० वर्षदेखि एक गिरोहले डलर देखाएर ठगी गरेको अनुसन्धानबाट फेला पारेको छ।
उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौं ठगेको पाइएको हो।
सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौं बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शंकर रेग्मीको मिलेमतोमा वर्षाैंदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उनले बताए।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाका विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौं भनी प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रुपैयाँ ठग्दै आएका थिए।
तीन जनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।
रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन्।
ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको उहाँले बताए। ‘त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेको छ’, रेग्मीले भने।
तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाइदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट तीन लाख र पाँच सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ।







