प्रभावकारी हुँदै प्रमाणमा आधारित अनुसन्धान ‘डिजिटल फरेन्सिक ल्याब’
काठमाडौं– नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ प्रमाणप्रधान अपराध अनुसन्धानमा सहयोगीसिद्ध भएको छ।
डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
प्रवक्ता ढकालका अनुसार स्थापनादेखि हालसम्म ल्याबले चार हजार पाँच सय ५३ वटा मुद्दाका जम्मा २१ हजार चार सय १५ वटा सबुद परीक्षण गरेको छ । अझै पाँच हजार एक सय १३ वटा मुद्दाका २४ हजार चार सय २५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका छन्।
उनले अहिले दर्ता भएकामध्ये पाँच सय ६० मुद्दाका तीन हजार १० सबुद परीक्षणका क्रममा रहेका बताए।
चालू आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिने अवधिमा चार सय ४० वटा मुद्दाका दुई हजार एक सय ६२ वटा सबुद परीक्षण सम्पन्न भएका जनाइएको छ। प्रवक्ता ढकालले भने, ‘प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ। आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ। त्यसैले प्रहरीले पनि आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो।’
नेपालमा अपराध अनुसन्धानका क्रममा संकलित वैज्ञानिक प्रमाण संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ।
ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टिमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ।
अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ। हाल अदालत, संवैधानिक आयोग, सरकारबाट गठित समिति, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन्।







