प्रभु बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने
काठमाडौं– प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको माघ ८ मा बसेको ३२१औं सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो।
बैंकले कम्पनी ऐनबमोजिम वार्षिक साधारणसभा (एजिएम) गर्ने समय नाघेपछि एजिएम गर्ने प्रयोजनार्थ राष्ट्र बैंकमा वित्तीय विवरण पेस गर्न लागेको छ।
कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको ६ महिनासम्म साधारणसभा गरिसक्नुपर्छ। तर, प्रभुलगायत अन्य २ वाणिज्य बैंकले उक्त व्यवस्था विपरीत पुस मसान्तसम्म एजिएम गरेनन्। प्रभुले पुस मसान्त सकिएको साता दिन बितेपछि एजिएमा प्रक्रिया अघि बढाएको छ।
प्रभुले गत आर्थिक वर्षमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख हुँदा उक्त नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको थियो।
तर, राष्ट्र बैंकले थप प्रोभिजन गर्न लगाएपछि बैंकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने भएको हो।







