पूर्वरजिस्ट्रार पराजुली १ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ
काठमाडौं– पोखरामा कार्यक्षेत्र रहेको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्दा १ करोड ५ लाख रुपैयाँको ‘डिल’पछि स्वीकृति दिएका तत्कालीन सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन्।
हाल कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलीलाई पर्वत प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो।
पराजुलीले मित्र मिलनको कार्यक्षेत्र विस्तार अनुमति माग्दा १ करोड ५ लाख रकम लिएको सहकारीका अध्यक्ष रमण पौडेलले जानकारी दिएपछि पक्राउ गरिएको पर्वतका डिएसपी खुमलाल भुसालले पुष्टि गरे।
सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका संस्थाका अध्यक्ष पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई घुस रकम दिएको प्रहरीसमक्ष बताएका थिए।
पराजुलीलाई कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेकाले सम्भवतः बुधबार नै पोखरा पठाउने तयारी छ।







