आईसीसी महिला टी–२०ः कतारलाई हराएर नेपाल सेमिफाइनलमा
काठमाडौं– नेपालले आईसीसी महिला टी–२० वल्र्डकप क्वालिफायरमा कतारलाई हराउँदै लगातार चौथो जित निकालेको छ। कतारमाथि ९ विकेटको जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।
जितपछि नेपालले चार खेलबाट आठ अंक पाएको छ।नेपालले अन्तिम खेल यूएईसँग खेल्नेछ। यही खेलले समूह विजेताको टुंगो लाग्नेछ। प्रतियोगितको फाइनल पुग्ने दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन्।
आजको खेलमा नेपालले जितका लागि ७५ रनको लक्ष्य पाएको थियो। टिम यूकेएम–वाईएसडी ओभल मैदानमा १०.३ ओभरमा एक विकेट गुमाएर नेपालले विजयी रन बटुल्न सकेको हो।ओपनर काजल श्रेष्ठले २८ बलमा ३२ रनको उत्कृष्ट इनिङ्स खेल्दै चार चौका प्रहार गरिन्।
यसअघि नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कतारले २० ओभरमा सात विकेट गुमाएर ७५ रन बनाएको थियो।
यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो।
समूह ‘ए’बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।







