क्षतिपूर्ति नदिने दुई मेनपावर कम्पनीको लाइसेन्स खारेज
काठमाडौं– वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिएर विदेशमा अलपत्र पारेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।
विभागले वैदेशिक रोजगार पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको हो ।दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि इजाजतपत्र नै खारेज गर्नुपरेको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
विभागले सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई १ लाख जरिमाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले बताएको छ ।







