यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा संयुक्त अबर इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको छ ।१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलेको हो ।
आइतबार विहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा समेटियो । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । नियमित कप्तान मोहम्मद वासिमलाई आराम दिइएको खेलमा ओपनिङ गरेका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्बाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए । त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे ।

मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे । सन्चित शर्माले १२ रन बनाए । बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।







