८ कात्तिकमा खण्डग्रास सूर्यग्रहण
करिब ३२ मिनेटमात्र नेपालबाट देखिने ग्रहण ४ः५२ देखि ५ः२४ सम्म सूर्यास्त हुने
काठमाडौं– नेपाल पञ्चांग निर्णायक विकास समितिले ८ कात्तिक मंगलबार कात्तिक कृष्णऔंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने जनाएको छ ।ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ ।
शास्त्रीय मान्यताअनुसार ८ कात्तिक बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले ९ कात्तिक बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतम बताउँछन् ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घन्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घन्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार ८ कात्तिक बिहान ४ः५२ बजेदेखि भोजन गर्नुहुँदैन ।
ग्रहणका समयमा नित्यकर्म गर्न हुन्छ । घरमा तिथि, श्राद्ध परे ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएबाहेक कर्म गर्न हुने जनाइएको छ ।







