नवरात्रको पाँचौं दिन : स्कन्दमाताको उपासना गरिँदै
स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुटकारा मिल्ने विश्वास
काठमाडौं– शुक्रबार नवरात्रको पाँचांै दिन । नवदुर्गामध्येकी पाँचांै स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात् कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।
स्कन्दमाताको चार हात रहेका छन् । देवीको दुई हातमा कमलको फूल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह हो । कमलको फूलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।
यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुटकारा मिल्ने विश्वास छ
नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठमा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।







