नेपालमा १ लाख नाघ्यो कोरोना संक्रमितको संख्या
नेपालमा कोरोना संक्रमितको संख्याले १ लाख पार गरेको छ । पछिल्लो २४ घन्टामा मात्रै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ सय ७६ संक्रमित भएका छन् । उनीहरूमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १ हजार ४ सय ९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० छन् ।
यस्तै, मोरङका ८६, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीका १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११, रौतहट र बर्दियाका ९–९, झापा, तनहुँ र दैलेखका ८–८, सर्लाही र धादिङका ७–७ तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
गुल्मी र कालीकोटका ५–५, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३–३, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुमपूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २–२ तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम, डोटी र बैतडीका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
६ सयलाई लग्यो कोरोनाले
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।
पछिल्ला दिन संक्रमणबाट मर्नेको मृत्युदर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।







