म्यानचेस्टर सिटीले आर्सनललाई हरायो
काठमाडौँ, , ४ पुस । इङ्लिस प्रिमियर लिग अन्रतगत दुई बलिया हस्तीबीचको भिडन्तमा म्यानचेस्टर सिटीले बाजी मारेको छ ।
घरेलु मैदान एत्तिहादमा आइतवार राति भएको भिडन्तमा सिटीले पाहुना टोली आर्सनलमाथि २–१ गोलअन्तरको जित निकालेको हो । खेलको सुरुवातमै गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा बराबरी र बिजयी गोल गर्यो । खेलको चौथो मिनेटमै आर्सनलका लागि थियो वाल्कोटले गोल गर्दै सिटीका घरेलु दर्शकलाई स्तब्ध बनाए ।
पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई सिटीका लेर्यो सेनले ४७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा राहिम स्टर्लिङले उत्कृष्ट गोल गर्दै पेप ग्वार्डिओलाको टोलीलाई जित दिलाउन सफल भए । यो जितपछि सिटी १७ खेलबाट ३६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा समान खेलबाट ४३ अंकसहित चेल्सी छ ।
सिटीसँग पराजित आर्सनल १७ खेलबाटै ३४ अंक बटुल्दै लिगको चौथो स्थानमा छ । १६ खेल खेलेको लिभरपुल ३४ अंकसहित तेस्रो स्थानमा छ । आइतवार राति नै भएको खेलमा टोटनह्यामले बर्नलीलाई २–१ ले पराजित गर्दै ३३ अंकका साथ लिगको पाँचौ स्थानमा कायम छ ।







