खेलकुद Tuesday, 9 Aug, 2016
Prestige Media

गौरिकाले मन जितिन्

श्रावण २५, २०७३- १३ वर्षीया स्वीमर गौरिका सिंहले रियो ओलम्पिकअघि सहभागी सबै प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ओलम्पिक अक्वाटिक्स स्टेडियममा आइतबार पनि आफ्नै कीर्तिमान सुधार गर्ने अपेक्षा गरिएको थियो । तर, उनको कीर्तिमान यात्रा रियोमा पुगेर ‘ब्रेक’ लागेको छ ।

३१ औं ग्रीष्मकालीन ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिकाले १ सय मिटर ब्याकस्ट्रोक पूरा गर्न १ मिनेट ०८.४५ सेकेन्ड लगाएकी थिइन् । उनी कोसोभो र सामोआका स्वीमरलाई उछिन्दै ‘हिट १’ को शीर्षस्थानमा रहेकी थिइन् र तर त्यसले उनलाई दोस्रो चरणमा पुर्‍याउन सकेन । एक मिनेट ००.८९ सेकेन्डभित्र रहेका १६ स्वीमर दोस्रो चरणमा प्रवेश गरेका थिए ।

गौरिकाले ३४ खेलाडीमध्ये ३१ औं स्थानमा रहेर ओलम्पिक यात्रा पूरा गरिन् । ओलम्पिक पौडीमा नेपाली खेलाडीको इतिहास हेर्दा यसलाई राम्रै मान्नुपर्छ । किनभने विगतमा नेपाली स्वीमरले दुर्लभै मात्र अन्तिम स्थान छाडेका थिए । यो स्पर्धामा पुरुषतर्फ नेपालको राष्ट्रिय कीर्तिमान १ मिनेट १२ सेकेन्ड छ । रियोमा गौरिकाको प्रदर्शन त्योभन्दा माथि रह्यो । त्यसैले दु:ख मान्नुपर्ने अवस्था छैन । तर, गौरिका १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्यपदक जित्दा बनाएको १ मिनेट ०७.३१ सेकेन्डको कीर्तिमान तोड्ने लक्ष्यमा भने चुकेकी छन् । उनले १ मिनेट ६ सेकेन्डभित्र पूरा गर्ने लक्ष्य राखेकी थिइन् । त्यसैले ‘फुच्ची स्वीमर’ मात्र नभएर एक खेलाडीका रूपमा हेर्नुपर्दा उनको समय अनपेक्षित नै हो ।

ओलम्पिक सुरु हुँदा सबैभन्दा कान्छी खेलाडीका रूपमा उनको जसरी चर्चा भएको थियो, झन्डै त्यसैगरी उनी प्रतिस्पर्धापछि पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएकी छन् । स्वीमिङ पुल जानका लागि तयार हुने क्रममा स्वीमसुट च्यातिएको खबरले धेरैले कभरेज गरेका छन् । ‘प्रतिस्पर्धाअघि स्वीमसुट लगाउने क्रममा नङ अडकिएर प्वाल पर्‍यो । त्यसपछि मैले प्रशिक्षकसँग कुरा गरेर स्वीमसुट फेरेको थिएँ । फरक स्वीमसुट लगाउनुपर्‍यो । यसबाट म केही नर्भस भएकी थिएँ,’ स्मार्टफोन उपयोग गरेकी उनलाई उद्धृत् गर्दै बेलायतको गार्डियनले लेखेको छ । यसबारे एपी, रोयटर्स र एएफपीलगायतले पनि समाचार बनाएका छन् । प्रतियोगितामा च्यातिएको स्वीमसुट लगाएर खेल्न पाइँदैन ।

१३ वर्ष २ सय ५५ दिनमा ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले स्वीमसुट परिवर्तन गर्नुपरेकाले नै प्रदर्शन कमजोर भएको भनेकी छैनन् । तर, स्वीमसुट फेर्नुले पनि खेलमा प्रभाव पार्छ । एकपल्ट स्वीमसुट लगाउन करिब २० मिनेट लाग्छ र फेरि लाउनुपर्दाको दबाब त हुन्छ नै ।

‘हतारमा स्वीमसुट फेर्नुपर्दा प्रदर्शनमा पनि असर त पर्छ नै,’ गौरिकाका बुवा पारस सिंहले रियोबाट भने, ‘तर, उनी खुसी नै छिन् । विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्दाको दबाब थेग्न १३ वर्षको उमेरमा त्यति सजिलो हुन्न । त्यसैले नर्भस भएर डिस्क्वालिफाई हुन्छिन् कि भन्ने मलाई डर लागेको थियो तर भइनन् । खुसी लाग्यो ।’

‘कान्छी स्वीमरले खेल नजिते पनि मन जितिन्’ भनेर धेरैमा उनी छाएकी छन् । लन्डनस्थित बार्नेट कोपथल स्वीमिङ क्लबमा चार वर्षयता नियमित प्रशिक्षण गरिरहेकी उनका प्रशिक्षक रिज गोर्मली हुन् । तर, रियोमा गौरिकालाई गोर्मलीको साथ पनि थिएन । प्रशिक्षकका रूपमा रियो जाने अवसर नपाएका गोर्मली लन्डनमै छन् र उनले त्यहीबाट फोन/म्यासेजमार्फत गौरिकालाई निर्देशन दिएका थिए ।
१२ औं सागमा एक रजत र तीन कांस्यसहित चार पदक जितेकी गौरिकाले नेपालको नम्बर १ महिला स्वीमरका रूपमा सहभागी हुनैपर्ने प्रचलनअनुसार ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । ‘फुच्ची’ भएकीले नै उनलाई रियोमा अभ्यास गर्न स्वीमिङ पुलतर्फ जाँदै गर्दा सुरक्षाकर्मीले रोकेका थिए । उनलाई ‘यो (स्वीमिङ पुल) खेलाडीका लागि मात्र हो’ भनेर रोकेका थिए । उनलाई ‘एक्रिडिटेसन कार्ड’ देखाएपछि मात्र अघि बढ्न दिइएको थियो ।

तीसपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी उनले छनोट पार गरेरै चार वर्षपछि जापानको टोकियोमा हुने ओलम्पिक खेल्ने लक्ष्य बनाएकी छन् । उनलाई लक्ष्यमा पुग्न आफ्नै मिहिनेत मात्र पर्याप्त हँुदैन । किनभने खेलमा देखिने खेलाडी हुन्छ, त्यसको नेपथ्यमा प्रशिक्षक, व्यवस्थापकको भूमिका र राज्यको लगानी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL