नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित
काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो।
नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।
पाकिस्तानका लागि मोहमद ताहिरले ५१ रन जोडे। यस्तै ओमर बिन युसुफले ३६ रन र कमरन गुलामले ३० रन बनाए।बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट लिन सफल भए। पवन सराफले २ विकेट हात पारे।नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरे। सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान गरे।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। दोस्रो ओभरमा ओपनिङ ब्याटर कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।
यस्तै कप्तान रोहितकुमार पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भए। दुवैलाई मोहमद वासिमले आउट गरे। अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भए लगत्तै पवन सर्राफ पनि १ रनमै आउट भए। कुशल मल्लले १७ रन र गुल्सन झाले १३ रन जोडे। १८ बलमा २ चौका र १ छक्का हिर्काएका कुशल तथा गुल्झन दुवैलाई मोहमद वासिमले नै पभिलियनको बाटो देखाए। कुशल बोल्ड हुँदा गुल्झन क्याच भए।
प्रतिश जिसीले २४ बलमा २६ रन जोडे। १ चौका र २ छक्का हिर्काएका प्रतिशले नवौं विकेटका लागि सोमपाल कामीसँग ७० बलमा ५८ रनको साझेदारी गरे। यहि साझेदारीका कारण नेपालको स्कोर बढेको थियो। यस्तै सोमपालले दशौं विकेटका लागि ललित राजवंशीसँग ४९ रनको साझेदारी गरे।बलिङमा पाकिस्तानका दहानीले ५ विकेट लिए भने वासिमले ४ विकेट हात पारे।
श्रीलंकामा हिजोदेखि सुरु एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।
अब नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।







