सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
सोमबार बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो।नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादवले ४२ रन बनाए। सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे। बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए।
१८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए।
बलिङमा नेपालका कृतिक कामदले ३ विकेट लिए। उनले २.३ ओभरमा १ मेडन राख्दा ९ रन खर्चिए। अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेश भट्टले १-१ विकेट लिए।
मलेसियाले आजै भएको खेलमा हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको थियो।अब नेपालले उपाधिका लागि भोलि आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।







