इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।
बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुन: इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् ।
पछिल्लो समय सरकारी स्तरबाट (जीटूजी) मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए ।
नेपाल इजरायल सम्बन्ध पुरानो र घनिष्ठ गरेको प्रसंग उल्लेख गर्दै मन्त्री महतले पछिल्ला वर्षमा इजरायल पनि नेपालको वैदेशिक रोजगारीका लागि सजिलो गन्तव्य बन्दै गएको बताएका थिए । उनले थप रोजगारीका अवसरका लागि इजरायलको सहयोगको अपेक्षा गरिएको बताउँदै त्यसका लागि भूमिका निर्वाह गर्न राजदूतलाई आग्रह गरेको संयोजक पाठकले बताए । कान्तिपुर बाट







