आजको पत्रपत्रीकाबाट
Wednesday, 8 Jun, 2016
उफ्फ यो महँगी !!!
काठमाडौं: आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ । व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्य वस्तुको मूल्यमा न्युनतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।नाकाबन्दीको समयमा आपूर्तिको अभावमा अकासिएको बजार भाउ क्रमिकरूपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्य वृद्धि पुनः अकासिन थालेको छ । अहिले आपूर्ति सहज भए पनि सरकारको कमजोर नियमन संयन्त्रका कारण व्यापारीले खाद्य पदार्थको मूल्य बताएका छन् । व्यापारीले अहिले चामल, चिउरा, दाल, माछा–मासु, अन्डा, तरकारी, दाल, चिनी, खानेतेलसम्मको मूल्यमा वृद्धि गरेका हुन् । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले भाउ बढाएका कारण उपभोक्ताको खुद्रा मूल्य पनि वृद्धि भएको दाबी गरे ।
२० दिन अघिसम्म प्रतिकिलो ७० मा बिक्री हुने चिनीको प्रतिकिलो मूल्य अहिले ८० पुगेको छ । यसैगरी प्रतिकिलो दुई सय ५० पर्ने रहरको दालको मूल्य अहिले दुई सय ८० पुगेको छ । दुई सय ४० पर्ने मासको सानो दालको मूल्य वृद्धि भएर अहिले प्रतिकिलो दुई सय ८० रुपैयाँ पुगेको छ । यसैगरी एक सय ९० पर्ने चनाको दालको मूल्य प्रतिकिलो दुई सय १० रुपैयाँमा पुगेको छ व्यापारीले सोना मन्सुलीको प्रतिकिलोमा १०, मोटा चामलमा प्रतिकिलो पाँच, पोखरेली चामलमा प्रतिकिलो पाँच, ताइचिन चिउरामा प्रतिकिलो १५, भुटेको तोरीको तेलको प्रतिलिटरमा १०, सनफ्लावर तेलको प्रतिलिटरमा १०, कुखुराको मासुमा प्रतिकिलो २०, अन्डा प्रतिक्रेटमा ७० रुपैयाँ वृद्धि गरेका छन् । यस्तै रातो आलुको प्रतिकिलोमा ३०, सेतो आलुको प्रतिकिलोमा २०, गोलभेंडाको प्रतिकिलोमा २०, काउलीको प्रतिकिलोमा २० र माछाको प्रतिकिलोमा ४० रुपैयाँसम्म वृद्धि भएको छ । आज को अन्नपूर्ण पोस्ट मा खबर छ







