आजको पत्रपत्रीकाबाट
Thursday, 19 May, 2016
पुरानै अवस्थामा फर्किदै वीरगन्ज

मधेश आन्दोलन र नाकाबन्दीका कारण थलिएको मुलुककै प्रमुख औद्योगिक एंव आर्थिक नगरी वीरगन्ज फेरि पुरानै लयमा फर्कन थालेको छ।
मधेसी दलले गरेको ६ महिने आन्दोलन र नाकाबन्दीको केन्द्र विन्दु वीरगन्ज नै बनेको थियो। आन्दोलन र नाकाबन्दीका कारण सबै भन्दा बढी वीरगन्जको उद्योग व्यपार र वीरगन्ज भन्सार कार्यालय मारमा परेका थिए।
माघ २२ गते नाकाबन्दी खुलेसंगै आन्दोलन पनि शीथिल भएपछि यहाको उद्योग व्यपार फेरि बिस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन्। वैशाखको पहिलो साता देखि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा पनि निकै सुधार आएको छ।
माघ २२ गतेदेखि नाकाबन्दी खुलेपछि दैनिक १५ करोडको औसतमा राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयले वैशाखको पहिलो साता देखि भने दैनिक ३० करोड भन्दा माथि नै राजश्व संकलन गर्दै आएको छ।
मधेस आन्दोलन र नाकाबन्दी भन्दा पहिले भन्सार कार्यालयको दैनिक राजश्व असुली दर ३० देखि ३२ करोड थियो, भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले भने ,’ वैशाख पहिलो साता देखि भने फेरि पहिलेकै हाराहारीमा राजश्व उठिरहेको छ।
पन्तका अनुसार वैशाख ५ गते देखि भन्सार कार्यालयको राजश्वमा संकलनमा सुधार आएको हो। भन्सार कार्यालयले अहिले दैनिक ३० देखि ३२ करोड रुपैया राजश्व संकलन गरिरहहेको कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले बताए। आजको अन्नपुर्णमा समाचार छ ।







