ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।यो रिटमा सर्वोच्च अदालतले रास्वपा र उसको अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि माग गरेको छ ।
दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले रिट दिएका थिए। श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गरेका थिए।







