१५० स्वर्णसहित आर्मीको अग्रता कायमै
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्नेछन्।
काठमाडौं–गण्डकी प्रदेशमा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदै छ ।गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्नेछन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
हालसम्म विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्वाधिक १५० स्वर्णसहित ३१४ पदक जितेर शीर्ष स्थानमा छ । आर्मीले ९४ रजत र ७० कास्य पदक जितेको छ ।

यस्तै, अर्को विभागी टोली नेपाल पुलिस क्लब ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित कुल १५८ पदकसहित दोस्रो स्थानमा छ ।तेस्रो स्थानमा रहेको अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १७६ पदक जितेको छ ।घरेलु टोली गण्डकी प्रदेश चौथो स्थानमा उक्लिएको छ । उसले २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित कुल १०६ पदक जितेको छ ।
बागमती प्रदेश २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित कुल १२३ पदकसहित पाँचौ स्थानमा छ ।छैटौं स्थानमा रहेको एनआरएनले १० स्वर्ण ८ रजत र ६ कास्यसहित २४ पदक जितेको छ ।
कुल ७५ पदक जितेको प्रदेश १ ले ९ स्वर्ण २२ रजत र ४४ कास्य जितेको छ।यस्तै, मधेस प्रदेशले ५ स्वर्ण जित्दा लुम्बिनीले ४ तथा कर्णालीले २ स्वर्ण जितेका छन् ।








