सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद विक्रमसिंह धामीले बुधबारको प्रदेश सभा बैठकको रोष्ट्रमबाटै सभामुख भीम भण्डारीलाई ‘सांसद पदको यमराज’ को संज्ञा दिएका छन्।
प्रदेश सभाको रोष्ट्रममा उक्लिनासाथ कांग्रेस सांसद धामीले भनेका थिए, ‘माननीय सभामुख भनौं कि सांसद पदका यमराज भनौं, अलि छुट्याउन गाह्रो भयो मलाई।’
कांग्रेस सांसद धामीले बुधबार सभामुख भण्डारीबाट र त्यसभन्दा पहिले विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएका खबर–कांग्रेसका सांसद देउवालाई पदमुक्त गरिएको प्रति कांग्रेसको ध्यानाकृष्ट भएको बताए।
साथै, उनले निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउने जस्तो गम्भीर र संवेदनशील निर्णय गर्दा कुनै पनि व्यक्तिलाई वास्तविक परिस्थितिबारे स्पष्ट पार्न उचित मौका दिनुपर्ने न्यायोचित र लोकतान्त्रिक अभ्यास हुने भए पनि सभामुख भण्डारीले त्यसो नगरेको दोषारोपन गरे।
‘त्यस्तो प्रक्रिया प्राकृतिक न्यायको सिद्धान्तको समेत आधारभूत मान्यता हो,’ कांग्रेसका पूर्वप्रमुख सचेतक समेत रहेका धामीले भने, ‘निहित स्वार्थपूर्तिका लागि उचित सुनुवाइको अवसर नदिई निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गरिनु लोकतान्त्रिक मूल्य मान्यताको प्रतिकूल हुने हाम्रो ठहर छ। यस्तो कार्यको हामी घोर भर्त्र्सना गर्दछौं।’
साथै, कांग्रेस सांसद धामीले प्रदेश सभा संचालन नियमावली बमोजिम प्रदेश सभामा नेतृत्व गर्ने राजनीतिक दलहरूको कार्य व्यवस्था तथा परामर्श समितिमा समेत देउवाको विषयलाई आवश्यक छलफल र परामर्शका लागि प्रस्ताव नलगिनु थप गम्भीर विषय भएको उल्लेख गरेका थिए।
सांसद धामीले सभामुख राजनीतिक दलको भूमिका भन्दा माथि उठ्ने भूमिका हुनुपर्ने भए पनि व्यवहारमा त्यो नपाएको गुनासो गरेका थिए।
उनले सभामुख भण्डारीको तटस्थताको भूमिकामाथि प्रश्न उठाएका थिए।







