पोखरामा सुरु हुँदै नवौं राष्ट्रिय खेलकुद
कुल ३६ वटा खेल खेलाइने नवौं राष्ट्रिय खेलकुदमा ८ हजार खेलाडी तथा अफिसियलसहित १० हजार बढीको पोखरामा जमघट
काठमाडौं– गण्डकी प्रदेशको पोखरा रंगशालामा शुक्रबारबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पूरा भएको छ । माछापुच्छ«ेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क शृंगारिएको छ ।नवौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा तयारीका लागि यत्रतत्र छरिएर खेल्दै गरेका खेलाडीले गतिविधिले यहाँको रौनक बढाएको छ । दसैं र आसपासमा केही दिनको लगातारको झरीपछि पोखराको मौसम पनि खुल्दै गएको छ ।
कोरोना, स्थानीय निर्वाचनलगायत कारण २०७७ मा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको ‘काउन्टडाउन’ शुक्रबार सकिँदै छ । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २१–२७ फागुन २०७७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।
कोरोनाका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण खेलको मिति पुनः सरेको थियो ।नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ३ः३० बजे भव्य समारोहबीच गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

२०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई चार दशकपछि नवौं राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका जुरेको हो । कुल ३६ वटा खेल खेलाइने नवौं राष्ट्रिय खेलकुदमा ८ हजार खेलाडी तथा अफिसियलसहित १० हजार बढी व्यक्ति पोखरामा एकसाथ जुट्दैछन् ।
यसअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)का आठ वटा खेल सम्पन्न गरेको पोखराको घरेलु मैदानमै यसपटक २६ वटा खेल हुने खेलमैदान व्यवस्थापन उपसमिति संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । ३६ खेलमध्येका अन्य खेल गण्डकीका विभिन्न जिल्लामा हुनेछन् ।प्रतियोगिता आगामी ३ कात्तिकसम्म चल्नेछ । पोखरासहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।
गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैनन् ।सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टिमबीच प्रतिस्पर्धा हुनेछ । खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ ।
पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्न्यास्टिक, ह्यान्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ। पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने भएको छ । आर्चरी, फेन्सिङ पोखरा रंगशालामा हुनेछ ।
यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइनेछ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।
रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला–पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्यान्डबल एकेडेमीमा खेलाइने भएको छ । यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ ।
नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ ।
स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौंमा खेलाइनेछ । राष्ट्रिय प्रतियोगितामा कूल पदक संख्या स्वर्ण ३ सय ९३, रजत ३ सय ९३ र कास्य ६०० रहेको परिषद्ले जनाएको छ ।







