राखेपद्वारा पुरुष क्रिकेटको खेल–तालिका सार्वजनिक
नवौं राष्ट्रिय खेल प्रतियोगिता गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म हुने तालिका छ
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेल–तालिका सार्वजनिक गरेको छ । राखेपले पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो ।
नवौं राष्ट्रिय खेल गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म हुने तालिका छ ।
नेपाल टी–२० लिगको मिति पनि त्यही समय पर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो ।
‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरी आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह, प्रस्ताव गरेको मिति र स्थान सम्बन्धमा सहभागी ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भएपछि मिति अनि खेल स्थलपरिवर्तन गरिएको छ,’ नवौं राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमिति सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन गरी ११ टिम सहभागी हुनेछन् । पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन् ।
११ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी
क्लब र गण्डकी प्रदेश छन् । समूह ‘बी’मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश १ र एपीएफ छन् ।प्रतियोगिताका खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।







