प्रधानमन्त्री ओलीको प्रचण्डलाई वाण– जति धोए पनि मयल गएन
प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहालको ध्यान सत्ता कब्जामै केन्द्रित रहेको दाबी गरेका छन् । काठमाडौंमा नेकपा ओली पक्षको सुदूरपश्चिम कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मित्रताको अँगालोे हाल्न खोजे पनि प्रचण्ड धृतराष्ट्र बन्न खोजेको आरोप लगाए । ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने । प्रचण्डलाई लाज लाग्नुपर्ने हो ।’
षडयन्त्रकारी प्रवृत्ति छाड्न प्रचण्डलाई बारम्बार सम्झाए पनि टसमस नभएको ओलीको भनाइ छ । ‘राजनीति धोकाधडीबाट मात्र नभई इमानजमानपूर्वक गरेर जनताका सेवा गर्न सुझाएँ’, ओलीले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो । ट्यांकीका ट्यांकी पानी खर्च भयो । साबुन लगायो पखाल्यो, जस्ताको तस्तै ।’
पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको उनले सुनाए । सरकारका कामकारबाहीमा जहिले भाँजो हालेर प्रचण्डले असहयोग गरेको ओलीले बताए ।
छोरीलाई भरतपुर उपमहानगरमा चुनाव जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको दाबी प्रधानमन्त्री ओलीले गरे । ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनुभयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिले तर खासै उपलब्धि भएन ।’
कम्युनिस्टहरू बाँडिनुभन्दा एउटै हुनुपर्ने ठानेर एक भए पनि प्रचण्डले एकतामाथि धावा बोलेको प्रधानमन्त्री ओलीले आरोप लगाए । नेकपा चिरा पर्नुको कारण प्रचण्ड स्वयं रहेको ओलीको बोली थियो ।
प्रधानमन्त्री ओलीले नेकपालाई एकढिक्का राख्न त्याग गर्दा पनि प्रचण्ड–नेपाल समूहले जालझेल गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाए ।
एकतालाई जोगाउन प्रचण्डसँग गरिएको पटक–पटकको सहमतिले ब्रिफकेस नै भरिए पनि काम नलागेको ओलीले बताए ।
माओवादीलाई नेकपा एमालेसँग मिलाएर एकता गर्न पूर्वमाओवादी पक्षलाई ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग गरिएको उनले दाबी गरे ।
ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर, एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, उनीहरुले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गरे, जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’
प्रधानमन्त्री ओलीले संसद् पुनस्र्थापनाको सम्भावनै नरहेकाले प्रचण्ड–माधव समूहलाई चुनावको तयारीमा लाग्न सुझाए । ‘चुनावको तयारीमा लाग्नुस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुस्,’ ओलीले भने ।







