वामदेवको मुद्दा हेर्दाहेर्दैमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ ।
संवैधानिक इजलासमा यो रिटमाथि आजदेखि दुवै पक्षको बहस चलिरहेको छ । बुधबार बहस हुँदाहुँदै समय सकिएपछि शुक्रबारलाई सरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।
‘आज बहस नसकिएपछि उक्त रिटको सुनुवाइ हेर्दाहेर्दैमा गएको छ,’ उनले भने, ’शुक्रबारलाई सरेको छ ।’ प्रधानन्यायाधीशको अध्यक्षता रहने संवैधानिक इजलास बुधबार र शुक्रबार गरी साताको दुई दिन बस्छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिएका थिए ।
यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी वामदेवलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।







