उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा
कोरोना संक्रमण समुदायस्तरमै फैलिएको आशंकामा सरकारले गत भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा लगाएको निषेधाको समय थप एक साता लम्बिएको छ ।
निषेधाज्ञा एक साता थपिएपछि काठमाडौं उपत्यका प्रवेशका नाकाहरूमा सुरक्षाकर्मीले थप कडाइ गरेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गतेसम्म पु¥याउने निर्णय गरेका हुन् ।
योसँगै उपत्यका प्रवेश गर्ने नाकाहरूमा प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको छ । बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरू नागढुंगा र साँगाभन्ज्याङमा प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको छ ।
नागढुंगाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माणजन्य सामग्री बोेकेका सवारी साधनहरू पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न पाएका छन् । त्यस्तै, अत्यावश्यक कामका लागि आउनेहरूलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश दिइएको छ । तर उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरण गरिने छैन ।
उपत्यकाबाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् । यस्तै भक्तपुरतर्फको साँगामा पनि प्रहरीले कडाइ गरेको छ । यो नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसको विवरण टिपेर पठाउने गरेको छ । उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । उपत्यकाभित्र पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । अत्यावश्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालनमा आएका छन् ।







