विद्यालय जाँदा “यिनीहरु वेश्या हुन्छन्” भन्थे’
डोटी, फागुन २ – तिलचामले भइसकेका कपाल, आँखामा मोटो चस्मा, निधारभरि दलिएको अविर, घाटीमा ऊनको सल र त्यसैमाथी खादा । सेतो कलरको मोटै स्वीटरमा तारादेवी केही कांग्रेस नेता कार्यकर्ताहरुसँग राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तोकिएको डोटी जिल्ला अदालतमा प्रवेश गर्नुभयो ।
राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी तारादेवी प्रमाणपत्र ग्रहण गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । महेन्द्रनगर नगरपालिका–१८, कञ्चनपुर घर भएकी ७० वर्षीया तारादेवी भट्ट सामान्य महिला जस्तै हुनुहुन्छ तर उहाँ सामान्य महिला न हिजो हुनुहुन्थ्यो न आज हुनुहुन्छ ।
यिनै तारादेवी वि.स. २०२३ सालमा साविकको महाकाली अञ्चलबाट एसएलसी उत्तीर्ण हुने पहिलो महिला हुनुुन्थ्यो । उहाँ अहिले राष्ट्रिय सभाको सदस्य हुनुभएको छ ।
तारादेवीको जीवन भने कम संघर्षपूर्ण छैन । वि.स. २००५ सालमा जन्मिएकी तारा किशोरावस्थाको बेलामा विद्यालय जाँदा समाजले ‘अव यो वेश्या हुन्छे’ भन्ने गर्थे । उहाँले घरबाट विद्यालयसम्म पुग्न धेरै कुरा सन्नु पथ्र्यो । तारादेवी सम्झनुहुन्छ, उहाँलाई विद्यालय छोड्न पनि दवाव आउँथ्यो ।
‘मसँग पढ्ने केटीहरुको त १०/१२ वर्षको उमेरमै बिहे भइहाल्यो तर मेरो परिवारले साथ दिँदा मैले एसएलसीसम्म पास गरेँ । १५/१६ वर्षको उमेरमा विद्यालय जाँदा गाउँमा “विद्यालयमा पुरुष मात्रै शिक्षकहरु छन, यि हुर्केका केटीहरु विद्यालय जान थाले, अव यिनीहरु वेश्या हुन्छन्” भनेर कुरा काट्थे’, तारादेवी भन्नुहुन्छ, ‘मेरो आमाले चरित्रमा बस्नु तर पढाई नछोड भनेपछि मैले पढ्न पाएँ ।’
अन्य सबै केटाहरु भएको कक्षामा उनी र उनको सानीआमा मात्रै छात्रा थिए । एसएलसी उत्तीर्ण भएपछि शिक्षण पेशामा लागेकी तारादेवीले जीवनको उर्वर ४२ वर्ष शिक्षणमा बिताउनुभयो । उहाँले आफूले प्रारम्भिक शिक्षा लिएको डडेल्धुराको देवल दिव्यपुर माविवाट आफ्नो अध्यापन यात्रा सुरु गर्नुभयो ।
‘एक सय ५४ रुपैयाँ मासिक तलव थियो त्यतिवेला’, आफ्नो जागिरे जीवनको प्रारम्भकाल सम्झँदै तारादेवी भन्नुहुन्छ, ‘पछि के–के भयो मैले त्यता छोडेर कञ्चनपुर आएँ ।’
त्यसपछि उहाँले २०२५ सालदेखि कञ्चनपुरको बैजनाथ माविमा अध्ययन सुरु गर्नुभयो । विवाह भइसकेपछि श्रीमानसँगै घरमै बस्दै गरेकी तारादेवीलाई विद्यालयमा शिक्षक बनिदिन आग्रह आयो ।
‘विद्यालयमा महिला शिक्षक नभएका कारण छोरीहरु पढ्नै नआउने भए, त्यसैले तपाईंले पढाइ दिनु प¥यो भन्ने कुरा आयो’, तारादेवीले भन्नुभयो, ‘श्रीमानले पनि हुन्छ भन्नुभयो, अनि अध्यापन सुरु गरे ।’
एसएलसीसम्मको अध्ययन नेपालबाटै गरेकी तारादेवीले भारतको उत्तरप्रदेशबाट सन् १९७० मा प्रमाणपत्र तहको पढाई पूरा गर्नुभयो तर उहाँले इच्छा हुँदाहुँदै पनि स्नातक गर्न सक्नुभएन् ।
तारादेवीका श्रीमान् अन्तराम भट्ट प्रजातन्त्रका पक्षधर थिए, प्रहरीले उनलाई पटक–पटक समात्दै जेल हाल्दै गथ्र्यो, त्यही कारण तारादेवीले पढ्न पाउनुभएन् ।
‘स्नातक तहका लागि दुई पटक कलेजमा भर्ना भएँ तर दुवै पटक श्रीमान् जेल पर्नुभयो, घरमा छोराछोरीहरु सानै थिए, उनीहरुलाई एक्लै छोडेर परीक्षा दिन भारत जान सकिएन’, तारादेवी सम्झनुहुन्छ, ‘त्यसैले पढाई छुट्यो ।’
पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा लागेका कारण तारादेवीले आफ्नो पढाइलाई त विश्राम दिनुभयो नै, त्यसको साथसाथै उहाँको महेन्द्रनगर बजारमा भएको जमिन समेत राज्यले खोस्यो । उहाँ सुकुम्बासी भएर बस्न बाध्य हुनुभयो ।
‘मेरो बजारको अढाई बिगाह जमिन राज्यले कब्जा गर्यो’, तारा भन्नुहुन्छ, ‘मैले पछि अनुरोध गर्दा शहरको अढाई बिगाह जमिनको सट्टा गाउँमा डेढ बिगाह जमिन सरकारले उपलब्ध गरायो ।’
शिक्षण पेशाको प्रारम्भमै नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघसँग आवद्ध भएकी तारादेवी त्यस संगठनको कञ्चनपुर जिल्ला अध्यक्षसम्म हुनुभयो । पदीय रुपमा उहाँ धेरै माथी पुग्नु त भएन तर उहाँको सम्बन्धका भने शिर्ष नेताहरुसँग जोडिइरह्यो । उहाँले पढाएका विद्यार्थी आफ्नै संगठनभित्र उच्च ओहोदामा पुगेका बेला उहाँ मेरो विद्यार्थी भन्दै खुशी व्यक्त गर्नुहुन्थ्यो ।
‘एनपी साउँद, रमेश लेखक मैले पढाएका विद्यार्थी हुन, राजनीतिक रुपमा पनि मैले उनीहरुलाई धेरै कुरा सिकाएकी छु’, तारादेवी भन्नुहुन्छ, ‘उनीहरु मन्त्री, सांसद हुँदा निकै खुशी लाग्थ्यो ।’
२०२५ सालदेखि अस्थायी रुपमा शिक्षण गर्दै आएकी तारादेवीलाई २०३६ सालमा भएको शिक्षक आन्दोलनले ०२५ सालबाटै लागू हुने गरी स्थायी बनायो ।
अवको संसदीय यात्रामा समाजमा रहेका सामाजिक, साँस्कृतिक, आर्थिक असमानताहरु हटाउने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ तारादेवी ।
‘संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको छ, तर त्यो कागजमा मात्रै सिमिति छ’ तारादेवी भन्नुहुन्छ, ‘संविधानले महिलाहरुलाई दिएको अधिकार पूर्ण रुपमा कार्यान्वयन गराई महिलामाथी हुने विभेद अन्त्य गर्नु मेरो पहिलो काम हुनेछ ।’
उज्यालो बाट साभार







