नेपाल अमेरिकासँग पराजित
काठमाडौं : पूर्वप्रशिक्षक पुबुदु दासानायकेको टोली अमेरिकासँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाँच विकेटको पराजय बेहोरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलको तयारीका लागि शुक्रबार खेलिएको पहिलो अभ्यास खेलमै नेपालले अमेरिकासँग पराजय बेहोरेको हो ।
आबुधावीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३६.१ ओभरमा ८९ रनको झिनो योगफलमै समेटिन पुगेको थियो । प्रत्युत्तरमा अमेरिकाले २२.३ ओभरमा पाँच विकेट गुमाउँदै ९४ रन बनाउँदै जित भेट्टायो । अमेरिकाविरुद्धको खेलमा नेपालले केही नयाँ खेलाडीलाई अवसर दिएको थियो । नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी बलर शक्ति गौचनलगायतका खेलाडी शुक्रबारको खेलमा मैदान बाहिरै थिए । शरद भेषवाकरले कप्तानी गरेको टोलीमा सागर पुनसँगै दिलीप नाथले पालीको सुरुआत गरेका थिए ।
यस्तै अतिरिक्त खेलाडीको रूपमा यूएई पुगेका यू-१९ राष्ट्रिय टोलीका अनिलकुमार साहसहित कुशल भुर्तेल र ललित भण्डारीले पनि अमेरिकाविरुद्ध मैदानमा उत्रने अवसर पाएका थिए । अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीको ब्याटिङ निकै कमजोर देखियो । वसन्त रेग्मीले २१, दिलीप नाथले १६, दीपेन्द्रसिंह ऐरीले १२ रन तथा कुशल भुर्तेलले १० रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वसन्त, दिलीप र दीपेन्द्रले आफ्नो पालीमा दुईदुई चौका प्रहार गरेका थिए । कुनै पनि खेलाडीले छक्का प्रहार गर्न सकेनन् । अमेरिकाका मध्यमगतिका बलर जपेन पटेल एक्लैले चार विकेट लिँदा अन्य खेलाडी सस्तोमै पेभेलियन फर्किएका थिए ।
सागर पुनले नौ रन जोड्दा मोहम्मद आरिफ शेख चार रन, सोमपाल कामी ६ रन तथा ललित भण्डारी एक रनमा आउट भए । सन्दीप लामिछाने एक रन जोड्दै अविजित रहँदा कप्तान शरद र अनिलकुमार साह शून्य रनमै आउट भए । जपेनबाहेक अमेरिकाका रोय सिल्भा र नोस्थुस केन्जिगेले पनि दुईदुई विकेट लिए ।
नेपाली ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न नसके पनि बलरहरूले भने सशक्त प्रदर्शन गरेका थिए । सागर पुन र सोमपाल कामीले दुईदुई विकेट लिँदा नेपालले अमेरिकाविरुद्ध थोरै योगफल पनि रक्षा गर्ने संकेत गरेको थियो । यद्यपि त्यो प्रयास सफल भएन।
अमेरिकाका सुरुवाती ब्याट्सम्यान सेइद अब्दुलले ४० बलमा ४४ रन जोड्नु नै नेपाली बलरका लागि ठाउको दुखाइ बन्यो । सेइदबाहेक रोय सिल्भाले पनि २८ बलमा अविजित रहँदै २५ रनको योगदान दिए । सेइदले आफ्नो पालीमा समान तीन÷तीन छक्का र चौका प्रहार गर्दा रोयले पनि तीन छक्का प्रहार गरेका थिए । अन्य चार ब्याट्सम्यानलाई भने नेपाली बलरहरूले पाँच रन पुर्याउनु अघि नै पभेलियनको बाटो देखाएका थिए ।
नेपालले आइतबार केन्याविरुद्ध यूएईमै दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि बुधबार र शुक्रबार विश्वक्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यूएईविरुद्ध दुई खेल खेल्नेछ ।
source ;annapurnapost








