हेल्लो सरकार ! मेरो गुनासोको कारबाही कहाँ पुग्यो ?’
काठमाडौं-सिन्धुपाल्चोकमा भूकम्प प्रभावितहरूका लागि वितरण गरिएको अनुदानमा घोटाला भएको भन्दै गत २१ मंसिरमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेल्लो सरकारमा गुनासो दर्ता भयो । हेल्लो सरकारको कार्यालयमा पुगेर लिखित रूपमै दर्ता भएको थियो, सो गुनासो । २०३ नम्बर दर्ता भएको गुनासोका निवेदक तीनपटक सिंहदरबार छिरिसके । तर, उनले दर्ता गराएको गुनासो एक कार्यालयदेखि अर्को कार्यालयमा भौंतारिरहेको छ । तर, कारबाहीको कुनै छाँट छैन, आजको राजधानीले खबर छापेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा गुनासो पठाए पनि गुनासोमाथि कुनै सुनुवाइ नभएपछि केही हुन्छ कि भन्दै प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए, उनी । ‘तर, खै यहाँको ताल पनि उस्तै रहेछ,’ नाम नछाप्ने सर्तमा उनले भने, ‘मैले पुरै विवरणसहित निवेदन दिएको हुँ । सरकारले चाहने हो भने एकै दिनमा समस्याको समाधान हुन्छ, तर यहाँ सुनुवाइ कतै हुँदो रहेनछ ।’
निवेदन दिएसँगै उनले हेल्लो सरकारमा पाँचपटक फोन गरे । त्यहाँबाट एउटै जवाफ आउँथ्यो, तपाईंको निवेदन प्रक्रियामा छ । प्रक्रिया के रहेछ भन्ने बुझ्न एक सातापछि सिंहदरबार पुगे । प्रक्रिया हेल्लो सरकारमै रहेछ । त्यसको अर्को साता सिंहदरबार पुग्दा हेल्लो सरकारदेखि पुस ३ गते चलानी नम्बर ४५०७५ पुनर्निर्माण प्राधिकरणमा पुगेको रहेछ ।
यो चलानी नम्बर बोकेर पुनर्निर्माण प्राधिकरणको गुनासो शाखामा पुग्दा जवाफ आयो, सूचना शाखामा गएर बुझ्नुस् । सूचना शाखाबाट फेरि गुनासो त्यहाँसँग सम्बन्धित भन्दै पुनः गुनासो शाखामै फर्कियो ।
त्यो दिन त्यस्तै भयो । फेरि बुधबार पनि सिंहदरबारमा सो गुनासोबारे बुझ्न हेल्लो सरकार हुँदै सूचना शाखादेखि गुनासो शाखासम्म पुगे । उनको उक्त चलानी नम्बर सिंहदरबारका कार्यालय घुम्दै पुनः गुनासो शाखा पुगेर अड्किएको छ । बुधबार गुनोसो शाखामा पुगेका उनले त्यहाँका कर्मचारीबाट यस्तो जवाफ पाए, ‘तपाईंको काम हुँदै छ, यहाँ तपाईंका मात्र होइनन् धेरैका गुनासा छन् । सबैलाई हेर्दै छौं ।’
‘हेर्दै छौं मात्र भन्छन्, काम गर्ने छाँट देखाउँदैनन्, जोखिम मोलेरै गुनासो दर्ता गराउँदा कार्यान्वयन हुँदैन भने किन गुनासो दर्ता गर्नु ?’ यी पीडितको प्रश्न थियो ।







