साहित्यकार इन्द्रबहादुर राईको निधन
काठमाडौं, फागुन २२ – नेपाली साहित्यका धरोहर इन्द्रबहादुर राईको मंगलबार बेलुका दार्जीलिङमा निधन भएको छ । दार्जीलिङको स्थानीय सञ्चारमाध्यम खबरम्यागेजिन डटकमले जनाए अनुसार नेपाली साहित्यका अभिभावक राईको निधन हृदयघातका कारण भएको हो । परिवारका सदस्यले जनाए अनुसार साँझ ६ बजेतिर राईलाई एक्कासि गाह्रो भएको थियो । हृदयघात भएको केही क्षणमै राईले प्राणत्याग गरेको खबरम्यागेजिनले जनाएको छ । राईको जन्म सन् १९२७ फेब्रुअरी ३ तारिखमा दार्जिलिङमा भएको थियो। दार्जिलिङमा जन्मिएर पनि राईले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।
राई नेपाली साहित्यको तेस्रो आयामका अभियान्ता मध्ये एक हुन्। वैरागी काइँला, ईश्वरबल्लभ र राई मिलेर २०२० दशकमा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका थिए।गतवर्ष श्रीमती बितेपछि मानसिक रुपमले समेत कमजोर बनेका राईको मंगलबार साँझ दार्जिलिङमा निधन भएको हो। राई दार्जिलिस्थिति लोचनगर, २ लरेटो कन्भेन्ट रोडमा बस्दै आएका थिए।राईकाकृतिहरूमा कठपुतलीको मन (निबन्धसंग्रह, सन् 1989),कथास्था (कथासंग्रह, सन् 1972),सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि. सं. २०६३),टिपेका टिप्पणीहरू (समालोचना संग्रह, सन् 1966),नेपाली उपन्यासका आधारहरू (समालोचना संग्रह, सन् 1974),सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् 1976), साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् 1983), दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् 1984), पहाड र खोला (निबन्धसंग्रह, सन् 1993), अर्थहरूको पछिल्तिर (समालोचना, सन् 1994), पृष्ठ पृष्ठ (समालोचना, सन् 1995), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् 2000), लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९) रहेका छन् ।
राईको निधनपछि नेपाली साहित्यकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिएका छन्।







